नियम
चालु अवस्थामा हस्तान्तरण गर्नु पर्ने
(१) जम्मा पूँजी लगानीको पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकले नेपाल सरकारको स्वामित्व कायम हुने सम्पत्ति र त्यससँग सम्बन्धित दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु पर्नेछ।
(२) जम्मा पूँजी लगानीको पचास प्रतिशतसम्म विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकले ऐनको दफा उ३ को उपदफा (४) बमोजिम पुनः अनुमतिपत्र लिई दूरसञ्चार सेवा सञ्चालन नगरेमा त्यस्तो सेवा प्रदायकले दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी दूरसञ्चार सेवा सञ्चालन गर्न आवश्यक दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु पर्नछ।
(३) उपनियम (१) वा (२) बमोजिम सम्पत्ति हस्तान्तण भएको सेवा प्रदायकले ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवालाई निरन्तरता दिन आवश्यक भएमा प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालनको शर्त तोकी बढीमा पन्ध्र दिनसम्मको लागि दूरसञ्चार सेवा सञ्चालन गर्न सेवा प्रदायकलाई निर्देशन दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिम निर्देशन प्राप्त भएमा अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकले त्यस्तो निर्देशनको अधीनमा रही दूरसञ्चार सेवालाई निरन्तरता दिनु पर्नेछ।
(५) उपनियम (३) बमोजिम अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकलाई सेवा सञ्चालन गर्न दिन उपयुक्त नहुने देखिएमा वा प्राधिकरणले दिएको आदेश बमोजिम सेवा प्रदायकले दूरसञ्चार सेवालाई निरन्तरता दिन नसक्ने जानकारी गराएमा प्राधिकरणले तत्कालै त्यस्तो दूरसञ्चार सेवालाई निरन्तरता दिन व्यवस्थापन समूह मार्फत दूरसञ्चार सेवा सञ्चालन गर्न वा अन्य आवश्यक व्यवस्था गर्न सक्नेछ।